तीन शीर्ष नेताको भनाइले थपियो सरकारको स्थायीत्वमाथि शंका


तीन शीर्ष नेताको भनाइले थपियो सरकारको स्थायीत्वमाथि शंका
  • नवकिरण
  • बैशाख ११, २०८२

काठमाडौं, वैशाख ११ – देशको राजनीति फेरि एकपटक अनिश्चितताको मोडमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार दिएका छुट्टाछुट्टै अभिव्यक्तिहरूले सरकारको निरन्तरतामा गम्भीर प्रश्न खडा गरेका छन्।

राजनीतिक रूपमा बलियो मानिएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन सरकारले अपेक्षित स्थायित्व नदिने संकेत विगत केही समयदेखि देखिँदै आएको थियो। अब भने सत्ताका शीर्ष नेताहरूको भाषण आफैँमा शंका पैदा गर्ने खालका देखिएका छन्।

प्रचण्डको खुलासा : देउवाको फोन र सरकारप्रति असन्तुष्टि

सिंहदरबारमा बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले सभापति शेरबहादुर देउवाले थाइल्यान्ड जानुअघि आफूलाई फोन गरेको खुलासा गरे। प्रचण्डका अनुसार देउवाले सरकारको दीर्घायुमाथि नै शंका गरेका थिए। उनले देउवालाई शुभकामना दिएको उल्लेख गरे पनि आफ्नो भनाइमा ओली नेतृत्वप्रति असन्तुष्टि स्पष्ट झल्किएको थियो।

गगन थापा : सरकारभन्दा ठूलो हो समाजको जिम्मेवारी

लोकतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले सरकारमा बस्ने वा नबस्ने भन्दा पनि समाज सम्हाल्ने जिम्मेवारी महत्वपूर्ण रहेको बताए। उनले ‘सरकार सुधार्न नसके, बाहिर जानुपर्छ’ भन्ने तर्कसमेत राखे, जसलाई धेरैले कांग्रेसको सरकारप्रति बढ्दो असन्तुष्टिको संकेत मानेका छन्।

ओलीको आरोप : दलाल तत्वको चक्रव्यूहमा एमाले

त्यही दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमालेविरुद्ध ‘विदेशका दलाल तत्वहरू’ सक्रिय भएको आरोप लगाए। उनले पार्टी कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दै २०८४ को चुनाव तयारीमा लाग्न निर्देशन दिए। तर, ‘एमाले सरकार बनाऊ, सरकार जोगाऊ भन्दै हिँडेको छैन’ भन्ने अभिव्यक्तिले सरकारको भविष्यलाई लिएर थप अनिश्चितता सिर्जना गरेको छ।

संयोग कि संकेत?

तीन नेताको एउटै दिन आएको यस्तो अभिव्यक्तिलाई कतिले संयोग ठानेका छन् भने कतिले सत्ताभित्र गम्भीर दरारको संकेत मानेका छन्। यद्यपि तिनै नेताहरूले प्रत्यक्ष रूपमा सरकार ढाल्ने कुरा भने गरेका छैनन्, तर उनीहरूको भनाइले सरकार टिक्ने कि नटिक्ने भन्ने बहसलाई चर्काइदिएको छ।

यसरी, एकै दिन तीन प्रमुख नेताबाट आएका यस्ता सन्देशले न केवल राजनीतिक वृतमा, तर आम नागरिकमा समेत सरकारको स्थायित्वप्रति आशंका थपिदिएको छ।