काठमाडौं, वैशाख ५ – काठमाडौं महानगरपालिकामा झण्डै चार महिनादेखि कार्यपालिका बैठक बसेको छैन। अन्तिमपटक १४ पुस २०८१ मा १६औं नगरसभा अघिको बैठक बसेको थियो। त्यसयता बैठक नबोलाइएको हो।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंप्रति मेयर बालेन्द्र साह असन्तुष्ट रहेको भन्दै कार्यपालिका बैठक रोकिनुको कारण बनेको जनप्रतिनिधिहरूको आरोप छ। ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृत नै सदस्यसचिव हुने भएकाले बैठक सम्भव नभएको बताइएको छ।
वडाध्यक्षहरू र जनप्रतिनिधिहरूले बारम्बार बैठकको माग गरे पनि मेयरले वास्ता नगरेको गुनासो छ। प्रवक्ता नवीन मानन्धरले भने, “बैठक नहुँदा वडाका समस्या समाधान हुन सकेका छैनन्।”
संघीयता विज्ञ डा. खिमलाल देवकोटा र नेपाल नगरपालिका संघका कलानिधि देवकोटाले बैठक नियमित बस्नुपर्नेमा जोड दिएका छन्। बैठक नबसीकन महानगरको निर्णय प्रक्रिया ठप्प भएको छ।