सुमना श्रेष्ठको स्पष्टोक्ति : रवि लामिछानेसँगको छलफलपछि नै सहमहामन्त्रीबाट राजीनामा


सुमना श्रेष्ठको स्पष्टोक्ति : रवि लामिछानेसँगको छलफलपछि नै सहमहामन्त्रीबाट राजीनामा
  • नवकिरण
  • बैशाख ४, २०८२

काठमाडौं, ४ वैशाख — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँगको आपसी छलफलपछि नै सहमहामन्त्री पदबाट राजीनामा दिएको स्पष्ट पारेकी छन्।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले दुई हप्ता अगाडि नै केन्द्रीय सदस्य तथा सहमहामन्त्री पदबाट राजीनामा दिइसकेको जानकारी दिइन्। उनले पार्टीबाट भने राजीनामा नदिएको बताइन्।

श्रेष्ठका अनुसार लामिछाने सभापति पदमा फर्किएको दिन भेट गरी राजीनामा बुझाएकी थिइन्। उनले भनिन्, “उहाँ जिम्मेवारीमा फर्किनु भएको बेला हामी निकै उत्साहित थियौं। उहाँले महाधिवेशन चाँडै गरिने बताएका थिए।”

श्रेष्ठले एकै व्यक्तिले दुई जिम्मेवारी सम्हाल्न कठिन हुने निष्कर्षपछि छलफलमार्फत राजीनामा दिएको स्पष्ट पारिन्। यद्यपि, उनले आफ्नो राजीनामा औपचारिक रूपमा प्रक्रियामा अगाडि नबढेको उल्लेख गरिन्।

उनले सभापति लामिछानेले हालैको बैठकमा पार्टीमा “म्यासिभ रिफर्म” आवश्यक भएको उल्लेख गरेको स्मरण गर्दै भनिन्, “उहाँले आफ्नो पदबाट परिणाम दिन सकिँदैन भने सोच्नुपर्छ भन्नुभएको थियो। मैले यही भावना अनुसार दुई हप्ता अघि नै राजीनामा दिएको हुँ।”

श्रेष्ठले लामिछानेको सहमतिमै राजीनामा दिएको बताउँदै अहिलेको फरक परिस्थितिमा आफ्नो राजीनामा सार्वजनिक गरिनु अनुचित भएको प्रतिक्रिया दिइन्।