ओली–देउवा छलफल : संयन्त्रमार्फत् सहमति खोज्ने तयारी


ओली–देउवा छलफल : संयन्त्रमार्फत् सहमति खोज्ने तयारी
  • नवकिरण
  • बैशाख २, २०८२

काठमाडौं, वैशाख २ – सत्तागठबन्धनमा देखिएको संशय र आलोचनाबीच प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान बालुवाटारमा छलफल भएको छ।

करीब एक घण्टा चलेको कुराकानीमा गठबन्धनको आयु, कार्यशैली, र पछिल्लो समयमा उठेका टिप्पणीहरूमाथि केन्द्रित छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार दुई शीर्ष नेताबीच गठबन्धनको औचित्य र अवधिलाई लिएर कुनै अन्योल छैन। तर, संयन्त्रभित्रका केही सदस्यले आलोचनात्मक अभिव्यक्ति दिँदै आएकाले ओली र देउवाबीच आपसी समझदारी बढाउने पहलस्वरूप यो छलफल भएको हो।

बालुवाटार स्रोतले भन्यो, “विगतमा पनि संयन्त्र र कार्यदलमार्फत् विवाद समाधान गर्ने अभ्यास थियो, अहिले पनि त्यही विधि प्रयोग हुनेछ।”

निकट भविष्यमै संयन्त्रको बैठक डाक्ने तयारी भइरहेको नेताहरूले जनाएका छन्। संयन्त्र संयोजन समितिको नेतृत्व हाल कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्।

यसबीच, प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नयाँ सरकार बन्ने संकेतपूर्ण अभिव्यक्ति दिएपछि गठबन्धनभित्रै विभिन्न कोणबाट बहस चलिरहेको छ।