जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुनः सुरु


जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुनः सुरु
  • नवकिरण
  • बैशाख १, २०८२

गैडाकोट, वैशाख १ – नयाँ वर्ष २०८२ सालको पहिलो दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले “जनतासँग माओवादी तराई मधेस जागरण अभियान” पुनः सुरु गरेको छ।

पूर्व–प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रित अभियान सोमबार नवलपुरको गैडाकोट आइपुगेको हो।

गैडाकोटमा उक्त अभियानलाई भव्य स्वागत गरिएको छ। स्थानीयवासी, पार्टी कार्यकर्ता र नेताहरूको उत्साहजनक सहभागिता देखिएको छ।

अध्यक्ष प्रचण्डसहित अभियान टोली सोमबार र मङ्गलबारसम्म नवलपुरमा रहने कार्यक्रम रहेको पार्टी स्रोतले जानकारी दिएको छ।

यस अभियानमार्फत माओवादी केन्द्रले तराई–मधेसमा आफ्नो सांगठनिक सञ्जाल बलियो बनाउने र जनसरोकारका विषयमा जनताको ध्यानाकर्षण गराउने उद्देश्य लिएको जनाएको छ।