काठमाडौं, वैशाख १२ – संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
यसअघि संसद्को हिउँदे अधिवेशन चैत १९ गते सम्पन्न भएको थियो। तीन साता लामो विश्रामपछि पुनः संसद बैठक बस्न लागेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेका थिए। तर, शिक्षक आन्दोलनका कारण संसद्को अधिवेशन केही दिनअघि नै बोलाइएको हो।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी काठमाडौंका सडकमा आन्दोलनरत शिक्षकहरुलाई विश्वासमा लिन सरकार दबाबमा आएको छ। आन्दोलन रोक्ने प्रयासस्वरूप अधिवेशन प्रारम्भमै केही विधेयक पारित गर्ने तयारी गरिएको छ। तर, आन्दोलनरत शिक्षकहरुले सरकारप्रति अझै विश्वास नराखेको र आन्दोलन यथावत् राख्ने बताएका छन्।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीको सम्बोधन हुने कार्यक्रम तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘बैठकको सुरुवातमै प्रधानमन्त्रीले पछिल्लो समसामयिक विषयमा सम्बोधन गर्नुहुन्छ,’ उनले भने।
यसैगरी, आजको कार्यसूचीमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ संसदमा पेश गर्ने अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ।