सर्वोच्चको आदेश : पाँचखालका इँटा उद्योग बन्द गर्नुपर्ने


सर्वोच्चको आदेश : पाँचखालका इँटा उद्योग बन्द गर्नुपर्ने
  • नवकिरण
  • बैशाख ३, २०८२

काभ्रेपलाञ्चोक, वैशाख ३ – सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेका इँटा उद्योगहरू बन्द गर्न आदेश दिएको छ।

अदालतले ती उद्योगहरूबाट वातावरण र जनस्वास्थ्यमा गम्भीर असर परेको ठहर गर्दै तत्काल इँटाभट्टा बन्द गर्न निर्देशन दिएको हो।

२०७६ साल पुस १४ गते स्थानीयवासीहरूले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। हाल पाँचखाल क्षेत्रमा आठवटा इँटाभट्टा सञ्चालनमा छन्।

यसैबीच, पाँचखाल नगरपालिकाले विज्ञप्ति जारी गर्दै वातावरणमैत्री नीति निर्माण भइरहेको र इँटाभट्टालगायतका उद्योगहरूलाई सुधारात्मक ढङ्गले अगाडि बढाइने जनाएको छ।

नगरपालिकाले इँटाभट्टा सञ्चालन गर्दा वातावरणीय मापदण्ड पालना गर्नुपर्ने र दीर्घकालीन दृष्टिकोणसहितको नीति ल्याउने तयारीमा रहेको जानकारी दिएको छ।