सिंहदरबारभित्र प्रदर्शन गर्ने राप्रपाका तीन नेता पक्राउ, काठमाडौं परिसरमा लगियो


सिंहदरबारभित्र प्रदर्शन गर्ने राप्रपाका तीन नेता पक्राउ, काठमाडौं परिसरमा लगियो
  • नवकिरण
  • बैशाख ७, २०८२

काठमाडौँ, वैशाख ७ – सिंहदरबारभित्र सांकेतिक प्रदर्शन गरेको आरोपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ।

राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गर्दै सरकारविरुद्धको विरोध प्रदर्शन आयोजना गरेको थियो। सोही क्रममा राप्रपाका नेताहरूले सिंहदरबारभित्र विभिन्न नारासहितका पम्प्लेट प्रदर्शन गरेका थिए। प्रहरीले सुरुमा उनीहरूका पम्प्लेट खोसेको थियो भने पछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्दै गर्दा अध्यक्ष लिङ्देनले सरकारप्रति आक्रोश व्यक्त गर्दै लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न समेत रोक लगाउने काम भएको गुनासो गरे।

प्रदर्शनअघि राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला भएका थिए। त्यसपछि संसदीय दलको कार्यालयमा भेला भएर नेताहरूले सिंहदरबारभित्रै सांकेतिक प्रदर्शन गरेका थिए।

यस घटनालाई लिएर राप्रपाले सरकारप्रति कडा आलोचना गरेको छ भने अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार कुन्ठित गर्न खोजिएको आरोप लगाएको छ।