काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँमा आयोजना गर्न लागेको प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आजको प्रदर्शनमा सीमित नेताहरूको उपस्थिति रहने बताएका हुन्।
अध्यक्ष लिङदेनले सरकारको निरङ्कुश प्रवृत्तिको विरुद्धमा राप्रपाले प्रतीकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेको स्पष्ट पारे। उनले भनेका छन्, “भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, यो मात्र गर, यो बाटो मात्र हिँड भनेर सीमा तोक्ने सरकारी निरङ्कुशता बिरुद्ध हामी प्रदर्शनमा उत्रिएका हौं।”
उनले वैचारिक रूपमा राप्रपालाई मुलुकको प्रमुख प्रतिपक्षी पार्टीको रूपमा दाबी गर्दै सरकारलाई आत्तिनु नपर्ने सुझाव पनि दिएका छन्। “हामीले जे गर्ने हो भनेरै गर्छौं,” उनले भने।
राप्रपाले आजको प्रदर्शन काठमाडौँको केन्द्रीकृत क्षेत्रमा गर्ने तयारी गरेको छ। पार्टीले यसअघि नै शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने जनाएको थियो।