मुम्बई, वैशाख १४ – बलिउड अभिनेता रितेश देशमुखको निर्देशनमा निर्माण हुँदै गरेको आगामी चलचित्र ‘राजा शिवाजी’ को छायांकन सेटमा दुखद घटना घटेको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको मृत्यु भएको छ।
सौरभ दुई दिनअघि महाराष्ट्रको सतारा जिल्लाबाट बेपत्ता भएका थिए। प्रहरीका अनुसार अप्रिल २२ तारिखमा सताराको कृष्णा नदी नजिकैको संगम माहुली गाउँमा गीतको छायांकन भइरहेको बेला सुटिङ सकिएपछि सौरभ नदीमा नुहाउन गएका थिए। सो क्रममा नदीको तीव्र वहावले उनलाई बगाएको थियो।
टोलीले उनलाई फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरिएको थियो। उद्धार टोलीले खोजी कार्य सुरु गरे पनि साँझपख अँध्यारो भएका कारण खोजी रोकिएको थियो। त्यसपछिका दिनहरूमा निरन्तर खोजी गर्दा अप्रिल २४ मा प्रहरीले सौरभ शर्माको शव फेला पारेको हो। घटनासम्बन्धी आकस्मिक मृत्युको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
यो दुर्घटनापछि फिल्मको छायांकन तत्काल रोकिएको छ।
‘राजा शिवाजी’ चलचित्रमा रितेश देशमुख मुख्य भूमिकामा देखिने छन् भने फिल्मको निर्देशन पनि उनी स्वयंले गरिरहेका छन्। चलचित्र हिन्दी र मराठी दुबै भाषामा रिलिज गरिनेछ। यस फिल्मको निर्माण रितेशकी पत्नी जेनेलिया देशमुख र निर्माता ज्योति देशपाण्डेले गरिरहेका छन्।