अमेरिकाले चीनमाथि २४५ प्रतिशत ट्यारिफ लगायो, व्यापार युद्ध चर्किंदै


अमेरिकाले चीनमाथि २४५ प्रतिशत ट्यारिफ लगायो, व्यापार युद्ध चर्किंदै
  • नवकिरण
  • बैशाख ३, २०८२

काठमाडौं, वैशाख ३ – चीनले अमेरिकाबाट आयात हुने सामानमा १२५ प्रतिशत भन्सार महसुल लगाएको जवाफी कारबाहीस्वरूप अमेरिकाले चिनियाँ सामानमा २४५ प्रतिशतसम्मको ट्यारिफ लगाउने घोषणा गरेको छ।

ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको दस्तावेजअनुसार चिनियाँ आयातमा अब उच्च भन्सार शुल्क लागू हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी खनिज तथा त्यसबाट बनेका उत्पादनमा निर्भरता राष्ट्रिय सुरक्षाको खतरा भएको भन्दै कार्यकारी आदेशमार्फत अनुसन्धान सुरु गरेपछि यो निर्णय आएको हो।

दस्तावेजमा उल्लेख भएअनुसार ट्रम्पले “महत्त्वपूर्ण खनिजमा विदेशी निर्भरता, त्यसबाट बनेका निम्नस्तरका उत्पादनहरूले अमेरिकी रक्षा क्षमता, पूर्वाधार निर्माण र प्रविधि नवप्रवर्तनलाई खतरामा पार्न सक्छ” भन्ने धारणा व्यक्त गरेका छन्।

ट्रम्प प्रशासनले विश्वका ७५ भन्दा बढी देशहरूसँग नयाँ व्यापार सम्झौताका लागि छलफल गरिरहेको जनाइएको छ। यद्यपि चीनसँग भने व्यापार युद्ध चर्किएको देखिएको छ।

केही महिना अघि चीनले अमेरिकातर्फ ग्यालियम, जर्मेनियम, एन्टिमोनी लगायतका उच्च प्रविधि सामग्रीहरू र सैन्य प्रयोगको सम्भावना भएका अन्य वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो। हालै उसले फेरि दुर्लभ धातु तथा चुम्बकहरूको निर्यात रोकेको दस्तावेजमा उल्लेख गरिएको छ।