शिक्षकहरूको आह्वान : आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गर्न काठमाडौं आउनुहोस्


शिक्षकहरूको आह्वान : आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गर्न काठमाडौं आउनुहोस्
  • नवकिरण
  • बैशाख १५, २०८२

काठमाडौं, वैशाख १५ – विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अझै पनि जारी छ। आइतबारको आन्दोलनका क्रममा प्रहरीले धरपकड गर्दा स्थिति तनावग्रस्त बनेको थियो।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनमा सहभागी शिक्षक तथा कर्मचारीहरू माथि भएको प्रहरी हस्तक्षेपको कडा विरोध जनाएका छन्। उनले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

महासंघले सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भइ आन्दोलनलाई थप सशक्त बनाउन सबै शिक्षक तथा कर्मचारीलाई आह्वान गरेको छ।

अध्यक्ष सुवेदीले काठमाडौं नआएका शिक्षकहरूलाई प्रश्न गर्दै भनेका छन्, “आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बग्दा पनि तपाईंहरू घरमै कसरी बस्न सक्नुहुन्छ? के आन्दोलनकारी साथीहरूको पीडाले तपाईंलाई घोच्दैन?”

महासंघले आन्दोलनलाई थप बलियो बनाउन देशभरका शिक्षकहरूलाई यथासिघ्र काठमाडौं आउन र सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।