शिक्षक आन्दोलनमा शिक्षकहरू बीच कुटाकुट, एक जना घाइते


शिक्षक आन्दोलनमा शिक्षकहरू बीच कुटाकुट, एक जना घाइते
  • नवकिरण
  • बैशाख १३, २०८२

काठमाडौं, वैशाख १३ – राजधानी काठमाडौंमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकहरूबीच विवाद हुँदा एक जना शिक्षक घाइते भएका छन्।

शनिबार दिउँसो करिब १ बजेतिर बिजुलीबजारमा नेपाल शिक्षक महासंघको आन्दोलनमा सहभागी भएका शिक्षकहरूबीच आपसी मतभेद भएपछि झगडा भएको प्रहरीले जनाएको छ। कुटपिटमा परेका ४५ वर्षीय केशवराज जोशी घाइते भएका छन्।

जोशी कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका-१ निवासी हुन् र धनगढी-१२ स्थित श्री दुर्गा आधारभूत माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार उनलाई करिब १५–२० जना शिक्षकहरूले कुटपिट गरेका थिए।

घाइते जोशीलाई तत्काल मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। यद्यपि उनी बोल्न सक्ने अवस्थामा रहेका छन्।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।