काठमाडौं, वैशाख ११ – पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा ‘राज्यविरुद्धको कसुर’ अन्तर्गत पक्राउ परेका २४ जनामध्ये १६ जनाको बयान सकिएको छ। बाँकी रहेका दुर्गा प्रसाईँसहित ८ जनासँग बयान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा अवाञ्छित गतिविधि भएको भन्दै प्रहरीले उनीहरूलाई राज्यविरुद्धको अभियोगमा अनुसन्धान गरिरहेको छ।
प्रदर्शनको अग्रमोर्चामा रहेका प्रसाईँसहित २४ जनामाथि मुद्दा दायर गरिएको हो। प्रहरीले हालसम्म १६ जनाको बयान सकाइसकेको छ भने बाँकीमा मेडिकल व्यवसायी प्रसाईँ र ललितपुरका विष्णुजंग बस्नेतसमेत परेका छन्।
जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीका अनुसार प्रसाईँसँग विभिन्न मुद्दामा विस्तृत रूपमा सोधपुछ गर्नुपर्ने भएकाले प्रश्न तयारी भइरहेको छ। ती अधिकारीले भने, “प्रसाईँका गतिविधिबारे विस्तृत बयान आवश्यक भएकाले बयान प्रक्रिया केही समय लाग्न सक्छ।”
यसअघि प्रसाईँले लघुवित्त पीडितहरूको नेतृत्व गर्दै बल्खुमा प्रदर्शन गरेका थिए। तर पछिल्लो समय उनी पूर्वराजा फर्काउने अभियानमा सक्रिय भएपछि प्रहरीले थप अनुसन्धान थालेको हो