भारतबाट ब्राउन सुगर ल्याएर नेपालमा कारोबार गर्ने मुख्य डिलर कपिलवस्तुमा पक्राउ


भारतबाट ब्राउन सुगर ल्याएर नेपालमा कारोबार गर्ने मुख्य डिलर कपिलवस्तुमा पक्राउ
  • नवकिरण
  • बैशाख ६, २०८२

दाङ, वैशाख ६ – भारतबाट अवैध रुपमा ब्राउन सुगर नेपाल भित्र्याएर कारोबार गर्दै आएका मुख्य लागुऔषध कारोबारीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।

उत्तर प्रदेश, बहराईच घर भएका ३२ वर्षीय अमित पोरवाललाई प्रहरीले वैशाख ४ गते राति करिब १०:४५ बजे बाणगंगा नगरपालिका–४ दरखास्तस्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ गरेको हो।

पोरवालसँगै बर्दियाको गुलरिया नगरपालिका–७ का ३० वर्षीय विशाल गुप्तालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीका अनुसार उनीहरूबाट १०२.८० ग्राम ब्राउन सुगर बरामद गरिएको छ।

प्रहरी अनुसन्धान अनुसार, पोरवाल विगतदेखि नै भारतबाट नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, बुटवल हुँदै काठमाडौंसम्म ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहँदै आएका थिए।

‘उनी भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै लागुऔषध भित्र्याउने प्रमुख कारोबारीमध्ये एक हुन्,’ डीएसपी अधिकारीले बताए, ‘उनीमाथि लामो समयदेखि निगरानी राखिएको थियो र करिब एक महिनाको पछ्याइपछि उनलाई नियन्त्रणमा लिन सफल भयौं।’

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट बरामद गरिएको भे १२ प १७८७ नम्बरको मोटरसाइकल समेत प्रहरी नियन्त्रणमा लिएको छ।