तीनकुने घटनामा संलग्न थप १२ जना थुनामुक्त


तीनकुने घटनामा संलग्न थप १२ जना थुनामुक्त
  • नवकिरण
  • बैशाख १५, २०८२

काठमाडौँ, वैशाख १५ – तीनकुनेमा भएको प्रदर्शनमा उपद्रव मच्चाएको आरोपमा पक्राउ परेका थप १२ जना अभियुक्तलाई प्रहरीले थुनामुक्त गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिल बोहराका अनुसार बयान सकिएपछि उनीहरूलाई हाजिर जमानीमा रिहा गरिएको हो। “अहिले थप १२ जनालाई छाडिएको छ,” एसपी बोहराले रातोपाटीलाई जानकारी दिए।

यद्यपि हाजिर जमानीमा छुटाइए पनि उनीहरू विरुद्धको मुद्दा भने अझै नसकिएको एसपी बोहराले बताए।

यसअघि कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका २१ जनालाई पनि प्रहरीले हाजिर जमानीमा रिहा गरिसकेको छ।

रिहा हुने अधिकांश अभियुक्तहरू आपराधिक उपद्रवको कसुरमा अनुसन्धानरत रहेका छन्। यसै क्रममा राज्यविरुद्धको कसुरमा अनुसन्धान भोगिरहेका राप्रपाका महामन्त्री डा. धवल शमशेर जबरा पनि अघिल्लो चरणमा हाजिर जमानीमा छुटेका थिए।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका जबरसहित हालसम्म कूल ३३ जना अभियुक्तहरू हाजिर जमानीमा रिहा भइसकेका छन्।