शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजितजस्तो देखियो : एमाले महासचिव पोखरेल


शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजितजस्तो देखियो : एमाले महासचिव पोखरेल
  • नवकिरण
  • बैशाख १४, २०८२

काठमाडौं, वैशाख १४ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज भएको शिक्षक आन्दोलनको मुठभेड नियोजितजस्तो देखिएको आरोप लगाएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले दुःखद् अवस्था सिर्जना गरेको बताए। उनका अनुसार शिक्षक नेतृत्व वार्ताबाट सहमतिमा पुग्न प्रयासरत थियो र वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको बेला मुठभेड भएको हो, जसले नियोजित षड्यन्त्रको संकेत गरेको उनले उल्लेख गरे।

महासचिव पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुसार मुठभेडमा लैजाने षड्यन्त्रविरुद्ध महासंघ नेतृत्व थप सतर्क हुनुपर्ने चेतावनीसमेत दिएका छन्।

उनले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालना गर्नु सरकार र शिक्षक दुवै पक्षको दायित्व भएको उल्लेख गर्दै वार्ताबाट सहमतिमा पुग्न विकल्प नभएको स्पष्ट पारे। साथै, दुवै पक्षलाई गम्भीरताका साथ वार्तामा बसेर सहमति जुटाउन र मात्र वार्ताबाट उठ्न अनुरोधसमेत गरे।