काठमाडौं, वैशाख १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ।
रास्वपाकी स्वास्थ्य विभाग प्रमुख डा. तोसिमा कार्कीले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गरी चिकित्सकहरूको माग सम्बोधन गर्न आग्रह गरेकी हुन्।
उनले निजी मेडिकल कलेजका चिकित्सकहरूले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मानजनक भत्ता र न्यायोचित ड्युटी आवरको माग जायज भएको उल्लेख गरेकी छिन्।
सरकारको निर्देशन कार्यान्वयन नभएपछि चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्। रास्वपाले सरकारलाई तत्काल जिम्मेवार बन्न आग्रह गरेको छ।