काठमाडौँ, वैशाख ९ – कक्षा १२ को वार्षिक परीक्षाको तयारीका बीच केही केन्द्राध्यक्षहरूले राजीनामा दिएका छन्। दैलेख र धनकुटाका दुई विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा बहिस्कार गर्दै पदबाट राजीनामा दिएका हुन्।
दैलेखको आठबीस नगरपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले शिक्षक आन्दोलनलाई समर्थन जनाउँदै केन्द्राध्यक्ष पदबाट राजीनामा दिएका हुन्। त्यस्तै, धनकुटास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले पनि सोही पदबाट राजीनामा दिएका छन्।
दुवैजनाले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका छन्। पत्रमा उनीहरूले परीक्षा नियन्त्रकले आदेश शैलीमा परीक्षा केन्द्रमा जान निर्देशन दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि आन्दोलन गर्दै आएको छ र कक्षा १२ को परीक्षा नदिन आह्वान गरेको छ। तर, परीक्षा बोर्ड भने परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने अडानमा अडिएको छ।