काठमाडौं, वैशाख ९ – १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा विभिन्न वामपन्थी दलहरुसँग आबद्ध ७७ जना नेता र कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रमको अध्यक्षता महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गरेका थिए भने सञ्चालन पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गरेका थिए। प्रवक्ता प्रकाण्डले ७७ वर्षे कम्युनिस्ट आन्दोलन अझै पूर्ण सफल हुन नसकेको बताउँदै, वर्तमान दलाल पुँजीवादी र सामन्तवादी परिस्थितिमा नयाँ उचाइमा पुग्न यो दिनले प्रेरणा दिने विश्वास व्यक्त गरे।
नेकपा (माले) का केन्द्रीय सदस्य तिलक नौपानेले पार्टी स्थापना कालदेखि हालसम्म भएका विभाजनको चर्चा गर्दै, तल्लो तहका कार्यकर्ता र नेताहरूले एकताको पक्षमा उभिनुपर्ने बताए। श्रमजीवी कम्युनिस्ट पार्टीका नवराज भट्टले माओवादी घटकहरूमा भएका पटक–पटकका फुटको अनुभव सुनाउँदै, नेपाली परिवेशअनुकूलको समाजवाद स्थापना गर्न नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व अपरिहार्य रहेको धारणा राखे।
पार्टीमा प्रवेश गर्नेहरूमा नेकपा (माले) का तिलक न्यौपाने नेतृत्वमा ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीमार्फत ४ जना, एसएस कलेज कीर्तिपुरका वसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनीतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा पूर्व एसपी वीरबल थापासहित ४ जना रहेका छन्।
यसरी कुल ७७ जना नेता तथा कार्यकर्ताहरूले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्।