काठमाडौँ, वैशाख ८ – २० दिनदेखि जारी शिक्षकहरूको आन्दोलनमा सोमबार तनावपूर्ण स्थिति सिर्जना भएको हो। ललितपुर गोदावरीका सनोज महत नामका अभिभावक आन्दोलनस्थलमा पुगेपछि विवाद उत्पन्न भएको थियो।
महतले आफ्नो छोरी विद्यालय जान नपाएको भन्दै शिक्षकहरूलाई विद्यालय फर्कन आग्रह गरे। उनले ‘विद्यालय बन्द गरेर बच्चाको भविष्य बर्बाद गर्न पाइँदैन’ भन्दै आन्दोलनको स्वरूप परिवर्तन गर्न सुझाव दिए।
उनको भनाइप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले उनीमाथि हातपात गरे। स्थिति बिग्रिएपछि प्रहरीले हस्तक्षेप गर्दै महतलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले लगे पनि केही शिक्षकहरू उनलाई कुटपिट गरिरहेका देखिन्थे।
शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले आन्दोलनमा आएर विघ्न पुर्याएको भन्दै महतलाई प्रहरीको जिम्मा लगाइएको बताए। महतले भोलिदेखि अन्य अभिभावक पनि सडकमा उत्रिने चेतावनी दिएका छन्।