रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ


रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ
  • नवकिरण
  • बैशाख ८, २०८२

काठमाडौं, वैशाख ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी श्रीमती निकिता पौडेलले आइतबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन्।

उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आजकाे पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। सो निवेदनमा सर्वोच्च अदालतले उच्च र जिल्ला अदालतका कागजात झिकाइसकेको छ। तर, सो निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि थप रूपमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको हो।

सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, उक्त आदेशलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले चैत २२ गते बदर गर्दै थुनामा राख्न आदेश दिएको थियो।

सोही दिन राति प्रहरी अधिकारीहरूले रविलाई घरमै पुगेर नियन्त्रणमा लिएका थिए। भोलिपल्ट २३ गते उनलाई रुपन्देही लगेर भैरहवास्थित जिल्ला कारागारमा थुनिएको थियो।