काठमाडौं उपत्यकामा २० वर्ष पुराना ट्याक्सी नियन्त्रणमा, ट्राफिक प्रहरीको अभियान सुरु


काठमाडौं उपत्यकामा २० वर्ष पुराना ट्याक्सी नियन्त्रणमा, ट्राफिक प्रहरीको अभियान सुरु
  • नवकिरण
  • बैशाख ५, २०८२

काठमाडौं, वैशाख ५ — बागमती प्रदेश सरकारले सवारी साधनको आयु सीमा तोकेर पुराना सार्वजनिक सवारीसाधन हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। यसैअनुसार शुक्रबारबाट काठमाडौं उपत्यकामा २० वर्ष पुराना ट्याक्सीहरू ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

शुक्रबार मात्रै एक दर्जनभन्दा बढी ट्याक्सी नियन्त्रणमा लिइएका छन्। यात्रुको सुरक्षाका साथै वातावरणीय प्रदूषण घटाउने उद्देश्यले बागमती प्रदेश सरकारले सवारी तथा यातायात ऐन, २०७५ को दफा १९(४) बमोजिम २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई ‘पत्रु’ घोषणा गर्ने निर्णय गरेको हो।

यो निर्णय कार्यान्वयन गर्न सरकारले २०८० जेठ ७ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। सो निर्णयविरुद्ध यातायात व्यवसायी सुरेन्द्र थापाले उच्च अदालत पाटनमा रिट दायर गरे पनि अदालतले प्रदेश सरकारको निर्णय सदर गर्दै पुराना सवारी हटाउन बाटो खुला गरिदिएको थियो।

सर्वोच्च अदालतमा पुनरावलोकन माग्दै दायर गरिएको निवेदनसमेत खारेज भएपछि अब ट्राफिक प्रहरीले ऐन कार्यान्वयनमा सघाउने कार्य थालेको हो। बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले फागुन २८ गते सबै जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्र पठाएर ऐन लागू गर्न आग्रह गरेको थियो।

नवीकरण नगरिएका, राजस्व नबुझाएका र बिमा नगरेका सार्वजनिक सवारीसाधन अझै सडकमा चलिरहेका हुँदा प्रदेश सरकारले ती सवारी नियन्त्रणमा लिन अभियान चलाएको हो। अब यो अभियानलाई चरणबद्ध रूपमा तीव्र बनाइने तयारी छ।