डोटी, वैशाख ५ – डोटीको बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार दिउँसो बडीकेदार–१ स्थित बेडुपाटा खोलाको किनारमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक अचानक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। मृतक नरेश सार्की बडीकेदार–२ का तपन सार्कीका छोरा हुन्।
प्रहरी चौकी खड्यौलीका प्रमुख विरादत्त पन्तका अनुसार उक्त बन्दुक बडीकेदार–१ रजेडका ४८ वर्षीय कमल सिंह खड्काले बोकेका थिए।
सिकारी समूहमा संलग्न रहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कमल सिंह खड्का (४८), खेम खड्का (२६), तारा सिंह खड्का (५२), तेजेन्द्र भाट (३९), अम्मर शाह (४०), चक्र भाट (३१), सुनील बम (१८), गणेश घर्तीमगर (३७), मान बहादुर शाह (७१) र जुलेश नामजाली मगर (२६) रहेका छन्।
घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए।