काठमाडौँ, वैशाख ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबारे औपचारिक निर्णय गर्न आज (बिहीबार) केन्द्रीय समिति बैठक बस्दैछ।
पार्टी सचिवालयको निर्णय र कार्यवाहक सभापतिको आह्वानमा पार्टीले बैठक बोलाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकका चार एजेन्डा रहेको जनाइएको छ। पहिलो एजेन्डामा अघिल्लो बैठकको निर्णय र पार्टी गतिविधिबारे केन्द्रीय सदस्यहरूको रिपोर्टिङ तथा समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गरिने छ। दोस्रो एजेन्डामा महाधिवेशनसम्बन्धी कार्य विवरण प्रस्तुत गरिनेछ।
रास्वपाले यसअघि वैशाख २५ देखि २७ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर सभापति रवि लामिछाने सहकारी मुद्दामा थुनामा परेपछि सो मितिमा महाधिवेशन सम्भव नहुने अवस्था आएको छ। यसअघि बसेको सचिवालय बैठकमा महाधिवेशन सार्ने कि हाललाई स्थगित गर्ने भन्ने विषयमा छलफल भए पनि औपचारिक निर्णय केन्द्रीय समितिबाटै गर्ने सहमति भएको थियो।
महाधिवेशनबाहेक केन्द्रीय समिति बैठकमा जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण लगायतका विषयमा पनि विशेष रिपोर्टिङ र छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।