सुर्खेत, वैशाख ३ – नायक पल शाहले कर्णाली प्रदेशमा सामाजिक अभियानमार्फत काम गर्ने इच्छा व्यक्त गरेका छन्। बुधबार मुख्यमन्त्री यामलाल कँडेलसँगको भेटका क्रममा शाहले आफ्नो चाहना राखेका हुन्।
मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा शाहले कर्णालीको पछाडि परिरहेको सामाजिक अवस्था सुधार गर्न आफू सक्दो सहयोग गर्न चाहेको बताएका थिए। यसक्रममा मुख्यमन्त्री कँडेलले शाहको चाहनालाई स्वागत गर्दै कर्णालीका पर्यटकीय स्थलहरूलाई प्रवर्द्धन गर्न पनि आग्रह गरे।
मुख्यमन्त्री कँडेलले भने, “राजनीतिक नेतृत्वसँग समन्वय गर्दै कलाकारितासँगै सामाजिक अभियानलाई जीवन्त राख्ने तपाईंको प्रयास निकै प्रशंसनीय छ।”
शाहले सामाजिक अभियन्ताको रूपमा कर्णालीमा योगदान दिने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, आगामी दिनमा कर्णालीमा विभिन्न सामाजिक परियोजनाहरूमा संलग्न हुने योजना रहेको छ।