शिक्षक आन्दोलनका कारण एसईईको नतिजा ढिलो हुने


शिक्षक आन्दोलनका कारण एसईईको नतिजा ढिलो हुने
  • नवकिरण
  • बैशाख ३, २०८२

काठमाडौं, वैशाख ३ – शिक्षक तथा कर्मचारीको आन्दोलनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण ढिलिएको छ, जसका कारण नतिजा सार्वजनिकमा पनि ढिलाइ हुने भएको छ।

परीक्षा नियन्त्रक गणेश भट्टराईले उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको तर शिक्षकहरू परीक्षणका लागि नआएको जानकारी दिए। “शिक्षकहरू छिट्टै फर्किने विश्वास छ,” उनले भने।

गत ७ चैतदेखि सञ्चालनमा आएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी थिए। बोर्डले असार पहिलो साता नतिजा सार्वजनिक गर्ने योजना बनाएको थियो।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन चर्काएको छ। आन्दोलनका कारण विद्यालयको भर्ना अभियान, वार्षिक नतिजा र अन्य शैक्षिक गतिविधि प्रभावित भएका छन्।

सरकारले आन्दोलन अन्त्य गर्न आग्रह गरे पनि महासंघले ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताएको छ। आन्दोलनले एसईई मात्र होइन, कक्षा १२ को परीक्षा पनि प्रभावित हुने सम्भावना देखिएको छ।