काठमाडौँ, वैशाख १ – नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ।
महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा आफ्ना सदस्यहरू सहभागी नहुने स्पष्ट पारेको हो।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २० चैतदेखि आन्दोलनरत छन्। सोही आन्दोलनलाई थप सशक्त बनाउन महासंघले देशभरका सबै विद्यालय अनिश्चितकालीन रूपमा बन्द गर्ने निर्णय समेत गरेको छ।
साथै, विद्यालय प्रमुख, शिक्षक तथा कर्मचारीहरूलाई राजधानीमा जारी शैक्षिक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिइएको छ।
सरकारले नयाँ शैक्षिक सत्र आरम्भसँगै भर्ना अभियान घोषणा गरेको भए पनि महासंघको आन्दोलनका कारण पठनपाठन प्रभावित बन्ने देखिएको छ।
आन्दोलनमा साथ दिन महासंघले निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई समेत आग्रह गरेको छ।
शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले चाँडो पहल नगरे आगामी दिनमा शैक्षिक क्षेत्र अझै जटिल बन्न सक्ने संकेत देखिएको छ।