वैशाख १५ सम्म रातको समयमा नारायणघाट–बुटवल सडक बन्द हुने


वैशाख १५ सम्म रातको समयमा नारायणघाट–बुटवल सडक बन्द हुने
  • नवकिरण
  • बैशाख २, २०८२

काठमाडौँ,वैशाख २ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा रातको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। सडक विस्तारको कामलाई तीव्रता दिन वैशाख १५ गतेसम्म दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्ड बन्द रहनेछ।

नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डको सडक मर्मत तथा विस्तारका लागि यो व्यवस्था गरिएको हो। उनका अनुसार गत चैत २७ देखि ३१ गतेसम्म पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर निर्माण कार्य गरिएको थियो।

यो खण्डको कुल ११४ किलोमिटर सडकमध्ये १०० किलोमिटर सडकलाई चार लेनमा र दाउन्नेको १४ किलोमिटर सडकलाई तीन लेनमा विस्तार गर्ने योजना छ। सहरी क्षेत्रमा भने दुवै तर्फ सर्भिस लेन रहनेछ। खनालका अनुसार दाउन्नेको पूर्वी खण्डमा मात्र ७० वटा कल्भर्ट निर्माण गर्नुपर्नेछ।

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सावधानीपूर्वक यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ।