काभ्रेपलाञ्चोक, वैशाख १ – जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले कर्तव्य ज्यान कसुरका फरार प्रतिवादीलाई ३१ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति ५७ वर्षीय दान बहादुर प्रधान हुन्, जो साविक नाग्रेगागर्चे गाविस वडा नम्बर ९ हाल चौरी देउराली गाउँपालिका वडा नम्बर २ दूतीका निवासी हुन्।
प्रहरीले आइतबार उनलाई धुलिखेल नगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रधानले २०५० वैशाख १६ गते उत्तर बहादुर प्रधानलाई चक्कु प्रहार गरी फरार भएका थिए। घटनापछि प्रहरीले प्रधानको खोजी गरिरहेको थियो।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले प्रधानलाई २०७६ माघ २८ गते जन्म कैदको सजाय सुनाएको थियो। अब प्रधानलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।