ललितपुर, वैशाख १ – ललितपुरको मंगलबजार नजिक खपिन्छेँ टोलस्थित एक घरको पानी ट्याङ्कीमा करिब ११/१२ वर्षीया बालिकाको शव फेला परेको छ। मकवानपुरको हेटौंडाबाट सरेर आएका सञ्जय बोगटीले नयाँ डेरामा बस्न थालेको केही दिनमै शव फेला पारेका हुन्।
बोगटी परिवार चैत १६ गते गाबहालबाट खपिन्छेँ टोलको भुइँ तलाको कोठामा डेरा सरेको थियो। पानीको अभाव झेल्नुपरेको अघिल्लो डेराको अनुभवले गर्दा बोगटीले ट्याङ्की सफा गरेर पानी जम्मा गर्ने तयारी गरेका थिए। तर ट्याङ्की सफा गर्ने क्रममा मोबाइलको टर्च बालेर हेर्दा एक जना व्यक्तिको खुट्टा देखेपछि उनी अत्तालिँदै बाहिर निस्किए र घरबेटीलाई खबर गरेका थिए। तत्पश्चात् प्रहरीलाई सूचना दिइएको थियो।
ट्याङ्कीभित्र शव कपडाले छोपिएको अवस्थामा फेला परेको थियो भने त्यसको माथि दुईवटा इट्टा राखिएको प्रहरीले जनाएको छ। ललितपुर जिल्ला प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार शव बझाङ घर भएकी र सोही टोलको मन्दिर नजिक डेरा गरी बस्दै आएकी दुर्गा बोहराको भएको आशंका गरिएको छ। उनी चैत ११ गतेदेखि बेपत्ता थिइन्। तर पहिले पनि घर छाडेर हिँड्ने गरेकी भएकाले परिवारले बेवास्ता गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।
शव फेला परेको घरमा बोहराकै परिवार पहिले डेरा गरी बसेको थियो। केही समयअघि मात्र उनीहरूले त्यो घर छाडेर अर्को स्थानमा सरेका थिए। शव सडिएको अवस्थामा फेला परेको हुँदा पहिचानमा समस्या भएको प्रहरीको भनाइ छ। परिवारले शवको पहिचानमा शंका व्यक्त गर्दै डीएनए परीक्षणको माग गरेका छन्।
प्रहरीले यस घटनामा बालिकाकै तीन जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। तर हालसम्म कुनै ठोस क्लु फेला नपरेको प्रहरीले जनाएको छ। घटनास्थलबाट बालिकाको विद्यालयको परिचयपत्रसमेत फेला परेको छ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार शवको घाँटीमा डोरी भेटिएको छ, जसले हत्या गरिएको आशंका बलियो बनाएको छ। तर पोष्टमर्टम रिपोर्ट आउन बाँकी रहेकोले पुष्टि गर्न बाँकी रहेको बताइएको छ।