शिक्षकहरूले नयाँ वर्ष २०८२ सडकमै मनाउँदै, विद्यालय शिक्षा ऐन जारी गर्न दबाब


शिक्षकहरूले नयाँ वर्ष २०८२ सडकमै मनाउँदै, विद्यालय शिक्षा ऐन जारी गर्न दबाब
  • नवकिरण
  • बैशाख १, २०८२

काठमाडौं, वैशाख १ – आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन्। विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि सडकमा उत्रिएका उनीहरूले नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका हुन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ वर्षको सुरुवात आन्दोलनकै मोर्चाबाट गर्न लागिएको जानकारी दिए। उनले भने, “यो दिन हामी शिक्षक, कर्मचारी र सम्पूर्ण विद्यार्थीको भविष्य सुनिश्चित गर्ने अभियानमा खर्च गर्दैछौं।”

उनका अनुसार आगामी केही दिनसम्म माइतीघर–बानेश्वर खण्डको सडकमा नै आन्दोलन जारी रहनेछ। “हामी थाक्दैनौं, गलीन्नौं। केवल हाम्रो न्यायपूर्ण माग पुरा गर्नसम्म लडिरहन्छौं,” सुवेदीले बताए।

सुवेदीले राज्यसँग विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै गुनासो गरे। उनले आन्दोलनमा अझ धेरै शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सहभागी हुन आह्वान समेत गरे।

शिक्षक तथा विद्यालय कर्मचारीहरू विद्यालय शिक्षा ऐन तुरुन्त जारी गरिनुपर्छ भन्ने मागसहित सरकारविरुद्ध दबाबमूलक आन्दोलनमा उत्रिएका छन्। आन्दोलन चैत २० गतेदेखि जारी छ।