विद्यार्थीहरूलाई ज्ञान, शिक्षा तथा नैतिकता सिकाउने शिक्षकहरू आफैंमा धैर्यवान, नीतिवान र अनुशासित हुनुपर्छ । तर कतिपय मानिसहरू पेशाले शिक्षक भएपनि आचरण चाहीँ सन्की हुन्छ ।
चीनमा एकजना शिक्षकले आफ्नो नाम लिएर सम्बोधन गरेको भन्दै एक बालकलाई ९ पटक थप्पड हानेका छन् ।
विनाकारण विद्यार्थीलाई कुट्ने ती शिक्षकको काण्ड प्रहरीसम्मै पुग्यो । सो घटनाका बारेमा गहन जाँच गरियो र ती शिक्षकलाई कारबाहीस्वरुप पदबाट निलम्बन गरियो । अभिभावकले शिक्षकबाट ७ सय अमेरिकी डलर बराबरको क्षतिपूर्ति लिन नमानेपछि ती शिक्षकलाई निलम्बन गरिएको हो ।
यो घटना पूर्वी चीनको शांडोंग प्रान्तस्थित जोचेंगमा रहेको एक प्राथमिक विद्यालयमा घटेको हो ।
सो विद्यालयको पाँच कक्षामा पढ्ने एक छात्रलाई गत मार्च १४ मा शारीरिक शिक्षाको कक्षाका बेला उनका शिक्षकले ९ पटक गालामा थप्पड हानेका थिए ।
ती छात्रले नाम काढेर सम्बोधन गरेपछि शिक्षकले उनलाई थप्पड हानेका हुन् ।
समाचार अनुसार शारीरिक शिक्षाको कक्षाका बेला ती छात्र खेल मैदानमा आराम गरिरहेका थिए । त्यसबेला उनले आफ्नो गणित शिक्षकलाई नजिकैबाट हिँड्दै गरेको देखे । त्यसपछि उनले ती शिक्षकको नाम लिएर बोलाए ।
हुआशांग डेलीको रिपोर्ट अनुसार वू नामका ती शिक्षक एकजना विद्यार्थीले आफ्नो नाम नै उच्चारण गरेपछि रिसाए । विद्यार्थीले आफ्नो नाम काढेर अनादर गरेको उनलाई लाग्यो । त्यसपछि उनी ती छात्र रहेको समूहमा पुगे र आफ्नो नाम बोलाउने छात्रलाई पहिचान गरेर उनको अनुहारमा लगातार ९ थप्पड हाने ।
नाम नखुलाइएका ती छात्रले गणित शिक्षक रिसाउँदै आएपछि माफी पनि मागेका थिए र अन्य शिक्षकहरूले पनि सहपाठी गणित शिक्षकलाई छात्रमाथि कुटपिट नगर्न अनुरोध गरेका थिए । तर ती शिक्षकले किशोर विद्यार्थीमाथिको क्रुरता जारी राखे ।
शिक्षकको कुटाइका कारण ती विद्यार्थीको अनुहार नै सुन्निएको थियो र त्यो पीडाले गर्दा उनको टाउको लगातार दुखिरहेको थाहा पाएपछि ती छात्रकी आमाले सोसल मिडियामार्फत् आफ्नो छोरा शिक्षकबाट कुटिएको सार्वजनिक गरिन् । छोरालाई लिएर अस्पताल जाँदा उसको टाउको तथा अनुहारमा चोट थियो ।
अन्ततः उनीहरूले प्रहरीलाई खबर गरे र उक्त घटनाका बारेमा विद्यालयका अधिकारीहरूलाई पनि बताए। विनाकारण विद्यार्थी कुट्ने शिक्षकलाई बर्खास्त गर्न उनीहरुले माग गरे ।
छात्रका बुवाआमाले छोरालाई किन कुटेको भनेर ती शिक्षकसँग प्रश्न गरेका थिए । त्यस क्रममा उनले आफू ५० वर्ष उमरेको पाको मान्छे हुँदाहुँदै ती छात्रले मजाक गर्दै चिच्याएर आफ्नो नामले बोलाएपछि आफूलाई अपमानित महसुस भएको र त्यसपछि आफूले छात्रलाई चुप लगाउनका लागि थप्पड हानेको बताएका छन् ।
विद्यालयले उक्त घटनापछि ती शिक्षकलाई पदबाट निलम्बन गरेको छ र ५ हजार युआन क्षतिपूर्ति दिन आदेश दिएको छ । तर परिवारले उक्त रकम लिन अस्वीकार गरेको छ । स्थानीय शिक्षा प्राधिकरणले यो घटनाका विषयमा अनुसनधान गरिरहेको बताइएको छ । एजेन्सी