राजदूत घिमिरे र बेलायती सभामुखबीच भेटवार्ता


राजदूत घिमिरे र बेलायती सभामुखबीच भेटवार्ता
  • नवकिरण
  • चैत्र २७, २०८१

नेपालका लागि बेलायतस्थित राजदूत महामहिम चन्द्रकुमार घिमिरेले सोमबार वेस्टमिन्स्टर दरबारमा बेलायती तल्लो सदन (हाउस अफ कमन्स) का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र बेलायतबीचको दीर्घकालीन मित्रता अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो।

राजदूत घिमिरेले ‘बेलायती संसद सबै संसदहरूको आमा हो’ भन्दै विश्वव्यापी रूपमा बेलायती संसदले खेलेको अग्रणी भूमिकाको प्रशंसा गरे। उनले नेपाल संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको शुभकामना सन्देश पनि सभामुख होयललाई हस्तान्तरण गरे।

नेपाली दूतावासद्वारा बुधबार साँझ जारी विज्ञप्तिअनुसार भेटमा राजदूत घिमिरेले नेपालको समावेशी संसदीय संरचना र हालै गठन भएको नेपाल-यूके संसदीय समूहबारे जानकारी दिए। उनले नेपाल सम्बन्धी बेलायतको अल-पार्टी संसदीय समूह (एपीपीजी) द्वारा प्राप्त निरन्तर समर्थनप्रति कृतज्ञता व्यक्त गरे।

नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण र संसदीय आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। साथै, जलवायु परिवर्तनको चुनौती सामना गर्न, राष्ट्रिय विकास लक्ष्य प्राप्त गर्न र सन् २०२६ सम्ममा न्यून विकसित देश (एलडीसी) को सूचीबाट सहज रूपमा स्थानान्तरण हुन बेलायतको सहयोग अपरिहार्य रहेको बताए। उनले गोर्खा समुदायका दीर्घकालीन मुद्दाहरू समाधान गर्न बेलायत सरकारलाई आग्रह पनि गरे।

सभामुख सर लिन्डसे होयलले बेलायत र नेपालबीचको गहिरो र विशेष सम्बन्धको पुनः पुष्टि गर्दै दुवै देशका संसदीय समूहबीचको सहकार्यलाई स्वागत गरे। उनले नेपालको प्राथमिकता अनुरूप बेलायतले निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।